बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ
म्याग्दी | भदौ ६, २०८२
म्याग्दी: जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् ।
स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा म्याग्दीका स्थानीय तहमा ८९ परिवार बसाइँसराइ गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छाडेर अन्यत्र गएका छन् । आव २०८०/८१ मा दुई सय ५२ परिवार बसाइसराइ गरेर जाँदा आउने परिवारको सङ्ख्या एक सय भएको स्थानीय तहको पञ्जीकरण शाखाको अभिलेखमा उल्लेख छ ।
गत वर्ष बसाइँसराइ गरेर आउनेहरूको परिवार सङ्ख्या बेनी नगरपालिकामा ४५, धवलागिरिमा तीन, मालिकामा आठ, मङ्गलामा १९, रघुगङ्गामा चार र अन्नपूर्णमा १० छ । बेनीबाट ६५, धवलागिरिबाट २३, मालिकाबाट ३९, मङ्गलाबाट ५५, रघुगङ्गाबाट २१ र अन्नपूर्णबाट ४४ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका छन् ।
म्याग्दी बहुमुखी क्याम्पस समाजशास्त्र विषयका प्राध्यापक गोरखबहादुर जिसीले गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा र पर्वत जिल्लाको बसाइँसराइ उल्टो रहेको बताउनुभयो ।
“गाउगाउँमा पुगेको सडक, विद्युत्, खानेपानी, सञ्चार सुविधाले मानिसलाई रोक्न सकेको छैन”, उहाँले भन्नुभयो, “रोजगारी र आयआर्जन अवसरको खोजीमा गाउँबाट सहर र सुविधा भएको ठाउँमा मानिस बसाइँसराइ गर्ने क्रम बढेको हो ।”
विसं २०७८ मा भएको जनगणनाको नतिजाअनुसार म्याग्दीको २५ हजार ३७४ घरमा २९ हजार २४२ परिवारका एक लाख सात हजार ३७२ जनसङ्ख्याको बसोबास छ । विसं २०६८ मा म्याग्दीको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ जना थियो । विशेषगरेर ग्रामीण क्षेत्रमा युवा उमेर समूहका उत्पादनशील जनशक्ति नहुँदा विवाहमा जन्ती, मृत्युमा मलामी जानेहरू प्रौढ र वृद्धहरू बढी देखिन थालेका धवलागिरि गाउँपालिका–४ का चित्र पुनले बताउनुभयो । “खेतीबाली लगाउन अर्मपर्म गर्ने चलन हरायो”, उहाँले भन्नुभयो, “खेतीयोग्य जमिन बाँझिएको छ । आयातित खाद्यान्नमा निर्भरता बढेको छ ।”
जन्मदर कम भएको र गाउँमा भएकाले पनि आर्थिक हैसियत बढेपछि छोराछोरी पढाउन बजार झर्ने क्रमसँगै विद्यार्थी सङ्ख्या घटेको अन्नपूर्ण गाउँपालिका–७ को टिकोट माविका प्रअ प्रदीप पुनले बताउनुभयो । कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा करिब ५० जनामात्र विद्यार्थी छन् ।
म्याग्दीबाट कास्कीको पोखरा, हेम्जा, काठमाडौं, चितवन, बुटवल र तनहुँमा बसाइँसराइ गरेर जाने गरेका छन् । सम्पन्नहरूले बजारमा घरघडेरी किनेर झरेका छन्भने विपन्नहरू काम र मामका लागि बजार झर्ने क्रम देखिएको प्राध्यापक जिसीले बताउनुभयो ।
“शिक्षालाई उत्पादन र रोजगारीमा नजोड्ने हो भने म्याग्दीको जनसङ्ख्या घट्ने र बसाइँसराइ बढ्ने दर अझै बढ्दै जानेछ”, उहाँले भन्नुभयो, “विकासलाई रोजगारी र सम्भावनालाई आयआर्जनसँग जोड्न आवश्यक छ ।”
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विकास गाउँतिर केन्द्रित भएको समयमा त्यसको उपभोग गर्ने जनसङ्ख्या भने सहरबजार झर्ने र विदेशिने अवस्था चुनौती रहेको बताउनुभयो । विकास आयोजनामार्फत रोजगारी सृजना, कृषि र पर्यटनमा जोड दिएको उहाँले बताउनुभयो ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

